‘नयाँ नेतृत्व, नयाँ सम्भावना’

२०७४ साल निर्वाचनमा ५००० मत र आशीर्वाद दिनुभयो, यसपालि इतिहास रचौँ

‘बाटोमा देख्दा वा संसद्मा बोल्दा, यो नेतालाई हाम्रो हो भनेर गर्व गर्ने काम गर्नेछु’

हरेक बच्चाले राम्रो शिक्षा पाओस्,
उपचार नपाएर कोही नमरोस्
हरेक युवाले देशमै रोजगारी पाओस्
धारामा हावा होइन पानी आओस्,

हाम्रा दिदीबहिनीहरू बाटोमा निर्धक्क हिँड्न सकुन्
हरेक जाती-जनजातिले शिर ठाडो पारेर बाँच्न पाउन्
भाषा, संस्कृति, सम्पदा हाम्रो पहिचान बनोस्
अनि बन्छ देश, अनि अघि बढ्छ देश

मिलन पाण्डे
(इन्जिनियर, लेखक, विवेकशील अभियन्ता )
प्रतिनिधि सभा सदस्य उम्मेदवार, 
काठमाडौँ क्षेत्र नं. ९ 

यो क्षेत्रमा पर्ने वडाहरू : 
काठमाडौँ महानगरका वडाहरू- १२, १४, २१, २२
नागार्जुन नगरपालिका वडाहरू- ६, ७, ८, ९, १०
चन्द्रागिरि नगरपालिका वडाहरू- १, १२, १३, १४, १५

यो क्षेत्रमा पर्ने प्रमुख स्थानहरु:
न्युरोड, संकटा मन्दिर, भोटेबहाल, लगनटोल, यंगाल, ब्रम्हटोल,  जैशीदेवल, टेकु, कुलेश्वर, रविभवन, बल्खु, कलङ्की, स्युच्टार, एल.आर.आइ. स्कुल, खड्का गाउँ, नयाँ नैकाप, पुरानो नैकाप, तीनथाना, सतुंगल (थोरै भाग), बलम्बु (थोरै भाग), दहचोक, भिमढुंगा, रामकोट, डाडापौवा, हसन्टार।

म को हुँ ?
नमस्कार, म मिलन पाण्डे। म सिभिल इन्जिनियर हुँ। म ३३ वर्षको भएँ। मेरो जन्म, शिक्षा-दीक्षा, घर सबै यही क्षेत्रमा पर्छ। उज्वल थापापछि दोस्रो अध्यक्षका रुपमा ०७६ सालमा विवेकशील नेपालीको अध्यक्ष पदमा निर्वाचित भएको थिएँ। त्यसपछि, २०७७ सालमा विवेकशील साझा पार्टीको संयोजक भएँ। हालसम्मको राजनैतिक/सामाजिक योगदान मैले विवेकशील अभियान मार्फत नै गरेँ। नेपाल खुल्ला छ, संविधान कहिले ? डाक्टर गोविन्द केसीको स्वास्थ्य क्षेत्र सुधार अभियान, न्यायपालिका सुधार अभियान, #EnoughIsEnough अभियान, युवालाई राजनीतिमा आकर्षण जगाउने अभियान लगायत करिब दुई दर्जन अभियानमा विगत १० वर्षदेखि सक्रिय छु। मेरो नेपालको सार्वजनिक शिक्षा सुधारमा मेरो विशेष रुचि छ। प्रत्येक नेपालीलाई धनी र आत्मसम्मानित बनाउने अभियानमा निरन्तर छु।

मिलन पाण्डेनै किन ?
१) म इन्जिनियर हुँ। बिकास, समृद्धिलाई वैज्ञानिक र समाधानमुखी तरिकाले बुझेको छु।
२) देशको आधा जनसंख्या २५ वर्ष मुनि छ। म ३३ वर्षको भएँ, मैले नयाँ पुस्ता, अहिलेको नयाँ परिवर्तनलाई थप नजिकबाट बुझेर तपाई र तपाईको सन्ततिका निम्ति हित हुने काम गर्न सक्छु।
३) गठबन्धन वा एमाले उम्मेदवार जित्दा संसदमा केहि नयाँपन आउँदैन। एउटा इन्जिनियर युवा उठ्दा संसदमै ताजापन आउछ।
४) लोकतन्त्र मेरो आधारभूत राजनैतिक आस्था हो। लोकतन्त्रलाई थप उन्नत बनाउन विगत एक दशकदेखि लागी परेको छु। यदि तपाईको राजनैतिक आस्था पनि लोकतन्त्र हो भने, यसपाली यो क्षेत्रमा तपाईका निम्ति उत्कृष्ट विकल्प म हुन सक्छु।
५) नेपालको शिक्षा प्रणाली सुधार्ने मेरो व्यक्तिगत र राजनैतिक उदेश्य हो। सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने र निजि विद्यालयमा लिने चर्को शुल्कलाई नियमन गराउन एक्लै भएपनि संसदबाट नेतृत्व गर्नेछु।

जितेपछि मिलन पाण्डे अन्यभन्दा फरक सांसद कसरी ?
१) महत्त्वपूर्ण विधेयकलाई स्थानीय माझ ल्याएर छलफल चलाउने छु। त्यहाँ उठेका र नागरिकले राख्नुभएका सुझावलाई संसद्मा प्रस्तुत गर्नेछु।
२) संसद्मा मेरो १०० प्रतिशत सक्रिय उपस्थिति रहनेछ। ( विशेष कारण बेला बाहेक )
३) प्रत्येक महिना स्थानीय, प्रादेशिक जनप्रतिनिधिसहित क्षेत्रमा एउटा ‘नागरिक सभा’ सञ्चालन गर्नेछु। जहाँ नागरिकले आफ्ना जनप्रतिनिधिलाई प्रश्न सोध्न पाउनेछन्, सुझाव दिन पाउनेछन्।
४) संसद्मा हावा तरिकाले बोल्दिन। संसद्मा पाउने प्रत्येक सेकेन्डको गरिमा राख्नेछु। प्रत्येक नीतिमा अध्ययन, अनुसन्धान, तथ्य र नागरिकको भावनामा टेकेर आफ्ना विचार प्रस्तुत गर्नेछु। आवश्यक परे, संसदभित्रनै रचनात्मक अभियान छेड्ने छु।
५) तीन वटै सरकारको क्षेत्रको बजेट, विकास र उपलब्धिलाई पारदर्शी बनाउन नेतृत्व गर्नेछु।

क्षेत्र नं ९ का लागि स्थानीय मुद्दा
( स्थानीय सरकार, र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्नेछौँ )

१) हाम्रो क्षेत्रको अधिकांश धारामा पानी आउँदैन। आउने धारामा पनि हप्ताको एक दुई चोटि राती १ – २ बजे पानी आउँछ। फेरी पानी नआए पनि पानीको पैसा भने तिरिनै रहनुपर्छ। त्यसैले, मेरो सांसदको रूपमा पहिलो प्राथमिकता यो क्षेत्रमा रहेको खाने पानीको समस्यालाई अन्त्य गर्ने हुनेछ। राती पानी दिने प्रथाको अन्त्यका निम्ति नेतृत्व गर्नेछु। 
२) पानी नआएको घरले पैसा तिर्न नपर्ने नियमका निम्ति वकालत गर्नेछु। पदीय सीमाले यदि समाधान दिन सकिनँ भने, स्थानीयसँग गाग्रो ठटाउने र मन्त्रालय घेर्ने आन्दोलनको अग्र पङ्क्तिमा हुनेछु।
२) क्षेत्रमा पर्ने बाटोहरू बनाउन, मर्मत गर्न र समयमै सक्न सांसदको हैसियतले अनुगमन गर्नेछु। म क्षेत्रको विकासका कामहरूलाई निरन्तर वैज्ञानिक अध्ययन र अनुगमन गर्छु।
३) क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण र प्रवर्धनमा विशेष ध्यान दिनेछु। अतिक्रमणमा परेका ऐतिहासिक, सांस्कृतिक र सार्वजनिक स्थलहरूलाई अतिक्रमणमुक्त गर्न नेतृत्व लिनेछु। हाम्रो क्षेत्रले आन्तरिक पर्यटनमा ठुलो सम्भावना बोकेको छ, क्षेत्रलाई पर्यटनसँग जोड्ने अभियान संचालन गर्नेछु।
४) स्थानीय सरकारसँग समन्वय गरेर नेवा संस्कृति, तामाङ संस्कृतिलाई नयाँ पुस्तासँग जोड्न कक्षा ८ मा ‘नेवा: एक सभ्यता’ र ‘तामाङ सभ्यता’ भन्ने पाठ्यक्रम नै राखेर विद्यार्थीलाई पढाउन पहल गर्छु। धिमय् (धिमे) लगायत सांस्कृतिक बाजा बजाउन समेत सिकाउने गरी पाठ्यक्रम तयार पार्न नेतृत्व लिनेछु। विभिन्न समुदाय बिच हाम्रो संस्कारलाई थप मजबुत बनाउन ‘मित लगाउने संस्कार’को विकास गर्नेछु। पर्व, संस्कृति जोगाउन गुठी प्रथालाई थप niसंरक्षण र व्यवस्थित गर्न पहल गर्नेछु।
५) नागार्जुन नगरपालिकामा एउटा फुटबल ग्राउन्ड बनाउन पहल गर्नेछु। नागार्जुन र चन्द्रागिरिमा रहने ग्राउन्डलाई राष्ट्रिय रङ्गशालाको रूपमा प्रवर्धन गर्न नेतृत्व गर्ने छु। साथै, सहिदको नाममा एउटा २५ लाख धनराशिको जिल्ला स्तरीय फुटबल-क्रिकेट कपको आयोजना गर्न नेतृत्व गर्नेछु।
६) परिवारमा कोही पनि नभएको आमा बुवाका निम्ति एउटा सबै सेवा सुविधा सहितको ‘अनुभव घर’ बनाउन पहल गर्नेछु। क्षेत्रको विभिन्न स्थानमा योग, आरती र भजन कार्यक्रमको लागी स्थानीय पालिकहरुसँग समन्वय गर्नेछु।
७) सहकारी मोडेल मार्फत लोकल जाँडरक्सी सङ्कलन र प्रशोधन गर्दै एउटा फ्याक्ट्री स्थापना गर्न पहल गर्नेछु। स्थानीयलाई रोजगारी उपलब्ध गराउन नेतृत्व लिने छु। कुचो, अचार, टिका, मूर्ति, घण्टी टाँकजस्ता बस्तु उत्पादनमा गृहिणीहरूलाई संलग्न गराउन नेतृत्व लिनेछु। सहकारी मार्फत गृहिणीहरूलाई आत्मनिर्भर बनाउन ‘नारी उद्यमशील’ योजना सञ्चालन गर्नेछु। क्षेत्रको महिलाहरू र गृहिणीहरुलाई ‘डिजिटल साक्षरता’ विकासका निम्ति पहल गर्नेछु।
९) क्षेत्रको सडकमा रहेको धुलो र धुवाको समस्या व्यवस्थापनका निम्ति सम्बन्धित सरकारसँग मिलेर काम गर्नेछु। वातावरण संरक्षणमा नेतृत्व लिँदै जिल्लामा एक लाख रुख रोप्ने अभियानको नेतृत्व गर्नेछु।
१०) विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० मा संसारको एउटा प्रमुख समस्या भनेको मानसिक स्वास्थ्य हुनेछ भनेर आकलन गरेको छ। म ‘डिप्रेसन’ लगायत मानसिक रोगलाई समयमै पहिचान र उपचार गर्न विशेष कार्यक्रम सञ्चालन गर्नेछु। साथै, मोटोपन देशको ठुलो समस्या बन्दै छ। सुगर, प्रेसर र अन्य रोगको घर बन्दै छ। त्यसैले मोटोपन घटाउने अभियान सञ्चालन गर्न नेतृत्व लिनेछु। विशेषज्ञ मार्फत मानिसलाई स्वास्थ्य रहन सिकाउने कार्यक्रम सञ्चालन गराउने छु। सरकारलेनै घोषणा गरेको ९८ वटा औषधीलाई नि:शुल्क वितरण कार्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेतृत्व गर्नेछौँ।

सांसदको रूपमा मैले उठाउने विशेष राष्ट्रिय मुद्दा
१) शिक्षकको तलब सबैभन्दा धेरै हुनुपर्छ। शिक्षकलाई सांसदकोभन्दा बढी तलब दिऔँ। मर्यादाक्रममा शिक्षकलाई ‘मानार्थ’ रूपमा सांसदकै तहमा राखौँ। प्रधानाध्यापकलाई मन्त्रीसरह तलब–सुविधा दिऔँ। प्रधानाध्यापकलाई ‘मानार्थ’ रूपमा मर्यादाक्रममा मन्त्रीसरह राखौँ। जुन दिन हामी नेतृत्वमा पुग्छौँ, यो हाम्रो पहिलो निर्णय हुनेछ।
२) नर्स, इन्जिनियर, खेलाडी, कलाकार लगायत सीपमूलक पेसामा आबद्ध पेसाकर्मीहरूको ‘न्यून पारिश्रमिक’ समस्यालाई समाधानका निम्ति नेतृत्व गर्नेछु।
३) विद्यार्थीहरूलाई कक्षा ८ बाट नै उनीहरू सैद्धान्तिक पढ्न चाहन्छन् वा टेक्निकल सिपका निम्ति पढ्न चाहन्छन् वा उनीहरू गायन, नृत्य, खेलकुद आदीमा लाग्न चाहन्छन् छुटाइने शिक्षा नीतिका निम्ति वकालत गर्नेछु। साथै, नेपालमा गायन, नृत्य, खेलकुदका निम्ति विद्यालय र क्याम्पसहरू स्थापनमा नेतृत्व गर्नेछु। यो अभियानलाई सफल बनाउन सबै कामको सम्मान गर्ने संस्कारको विकास गर्न नेतृत्व लिनेछु।
४) युवा उद्यमीहरूलाई कर छुट, स्टार्ट अपका निम्ति राज्यबाट सहयोग, बिजनेस गर्न सजिलो वातावरण र राज्यबाट संरक्षणका निम्ति नेतृत्व गर्नेछु।
५) सदियौँदेखि राज्य र समाजबाट भएका जातीय, लैङ्गिक, वर्गीय, क्षेत्रीय, धार्मिक लगायतका सबै विभेद र अन्यायका निम्ति राष्ट्रप्रमुखबाट संसद्मार्फत क्षमा याचनाको उद्घोषका निम्ति पहल गर्नेछु।
६) सामान किन्दा होस् वा कहीँ गएर खाँदा होस् वा अस्पतालमा सेवा लिन जाँदा होस्, हामीले उपभोक्ताको अधिकारबारे सचेत हुन सकेका छैनौँ। त्यसैले हामी ठगिन्छौँ। गुणस्तरहीन वस्तु वा सेवा दिनेलाई कानुनको दायरामा ल्याउन नेतृत्व लिनेछु।
७) अहिलेको अदालती व्यवस्थामा यदि कसैलाई मुद्दा पर्‍यो भने आधा जीवन अदालतको चक्करमै बित्छ। अदालतले निष्पक्ष न्याय ६ महिनाभित्रमा दिने व्यवस्था र अवस्थाका निम्ति पहल गर्न काम गर्नेछु।
८) महिला हिंसा अन्त्यका निम्ति पहल गर्नेछु। विद्यालय शिक्षामा ‘यौन शिक्षा’ लाई जोड दिने, महिलाका मुद्दा हेर्नको लागी छुट्टै प्रभावकारी महिला सेल र महिला हिंसा सम्बन्धी मुद्दा हेर्नको लागी अदालतमा छुट्टै फास्ट ट्र्याक इजलासका निम्ति पहल गर्नेछु। नारीलाई समस्या पर्ने बित्तिकै सम्बन्धित प्रहरी पुगिहाल्ने गरी नारी सुरक्षाका निम्ति ‘सुरक्षा याप’ सञ्चालन गर्न पहल गर्छु।
९) टुटल, इन्ड्राइभर, पठाओ जस्ता राइड सियारिंग माध्यमका निम्ति आवश्यक कानुन निर्माणमा पहल गर्नेछु। ड्राइभरहरू र प्यासेन्जरको सुरक्षा, शुल्कको निर्धारण र याप कम्पनीले लिने कमिसन र तिर्नुपर्ने करबारे स्पष्ट नीति लागु गराउन पहल लिनेछु। सार्वजनिक यातायातलाई थप चुस्त बनाउन पहल गर्नेछु। साथै, लाइसेन्स, ब्लु बुक लगायत कामलाई झन्झटिलो नबनाई घरबाट गर्न सकिने प्रविधिको वकालत गर्नेछु। 
१०) शेयर बजारको समस्या समाधानमा पहल लिनेछु। पुँजीको विकासलाई गलत दृष्टिले हेर्ने, जुवा हो भन्ने नेताहरूको बुझाइका कारण शेयर बजारले धेरै समस्या झेल्नुपरेको छ। शेयर बजारलाई थप व्यवस्थित गर्न र लगानीकर्ताको लगानीलाई सुरक्षित गर्न आवश्यक पहल गर्नेछु। केहि थोरै व्यक्तिहरूले शेयर बजारलाई तलमाथि गरेर साना लगानीकर्ताहरूलाई असर गर्ने कुरामा राज्यले भूमिका खेल्न पहल गर्नेछु।

म सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई थप उन्नत बनाउदै नागरिकले शिक्षा, स्वास्थ्यको बारेमा चिन्ता नगरी आफ्नो योग्यता-क्षमता अनुरुपको जागीर पाउने अवस्था निर्माणका निम्ति नेतृत्व गर्नेछु।

हाम्रा थप राष्ट्रिय प्रतिबद्धता:

 

हाम्रा ७ प्रमुख प्रतिबद्धता

१. उन्नत संविधाननै समाधान: नेपालको संविधान २०७२ ले संस्थागत गरेका उपलब्धिहरूको अपनत्व लिएर संविधानलाई थप समय सापेक्ष सुधार गर्दै सुशासन सहितको सेवक सरकार बनाउन अघि बढ्नेछौँ। संविधानले दिएको मौलिक हकलाई लागु गराउन संसदबाट र आवश्यक परे सडकबाट क्रियाशील रहनेछौँ।

२. खुल्ला सिंहदरबार – खुल्ला संसद: खुल्ला सिंहदरबार – खुल्ला संसद्को अवधारणा लागु गर्नेछौँ। सिंहदरबार आम नागरिकको लागी खुला गर्न नेतृत्व लिनेछौं। संसदमा प्रस्तुत विधयकहरु क्षेत्र न ९ मा ल्याएर छलफल चलाउनेछौं। छलफलले दिएको संदेश बोकेर संसदमा जानेछौं।

३. शिक्षा – स्वास्थ्यमा सुधारनै संवृद्धिको आधार: सर्वसुलभ र गुणस्तरीय, सीप, रोजगार र उत्पादनसँग जोडिएको शिक्षाका निम्ति संसदमा क्रियाशील रहनेछु। संविधानले तय गरे बामोजिम माध्यमिक तहसम्म शिक्षालाई निशुल्क र गुणस्तरीय बनाउन नेतृत्वदाई भूमिका खेल्नेछौं। स्वास्थ्य बिमा लागु गराउने छौं। चिकित्सा शिक्षालाई थप पारदर्शी र नागरिक-विद्यार्थी मैत्री बनाउन नेतृत्व गर्ने छौं। साथै, बुवा आमाहरुको लागी सुगर प्रेसर जस्ता दिर्घरोगका निम्ति स्थानीय तहमै र घरमै उपचारको व्यवस्था मिलाउने नीतिका निम्ति नेतृत्व गर्नेछौं।

४. संस्कृति सम्पदानै सम्पत्ति: संस्कृति, सम्पदा र वातावरण संरक्षण गर्न सांसदबाट उपयुक्त नीति बनाउन नेतृत्व गर्नेछौँ। नयाँ पुस्तालाई आफ्नो संस्कृति र सम्पदामा गर्व गर्न प्रेरित गर्ने नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नेछौं।

५. अब नोट संगै  भोट पनि चल्ने: विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको निर्णय कार्यान्वयन गर्न नेतृत्व गर्नेछौँ। साथै, #BrainGain अभियान अन्तर्गत विदेशमा रहनुभएका विज्ञ र व्यवसायीहरुलाई नेपालको नीति निर्माण र विकासमा सहभागिता गराउने छौं।

६. भ्रस्टाचारको भण्डाफोर: सांसदबाट नीतिगत भ्रष्टाचारको भण्डाफोर गर्नेछौँ। ४६ सालपछिका सांसद र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न आयोग बनाउन सांसदबाट आवाज बुलन्द गर्छौँ। भ्रष्टाचारको संरक्षण गर्नेलाई कडाभन्दा कडा कारबाहीको कानुन संशोधन गर्नेछौँ।

७. महिला पुरुष बराबर, : महिला हिंसामा शून्य सहनशीलताको नीति लिनेछौँ । नागरिकता, आय, आत्मसम्मानमा महिला पुरुषको हकमा समान हुने कानुन बनाउँछौँ।

 

राष्ट्रिय मुद्दाहरु

  • शिक्षामा बजेट बढाउने र संविधान अनुसार शिक्षालाई पूर्ण निशुल्क गर्न संसदमा लबिंग गर्नेछौँ। फरक क्षमता रहेका बालबालिकाहरुका निम्ति गुणस्तरीय शिक्षाको जिम्मेवारी सरकारले लिने नीति लागु गर्नेछौं।

  • सक्नेले स्वास्थ्य बिमा आफै गर्ने, नसक्नेलाई सरकारले गरिदिने नीति बनाउन पहल गर्नेछौं। आर्थिक अवस्थाका कारण कोहि पनि नागरिकले मर्नु पर्दैन भन्ने प्रत्याभूति गराउनेछौं।

  • प्रत्येक नेपालीलाई रोजगारीको समान अवसर प्रदान गर्न नीति तथा कार्यक्रम लागु गर्न नेतृत्व गर्नेछौं। नीतिगत रुपमा कामको माग र आवश्यकता अनुसार व्यावास्थापान, सीपमुलक कार्यक्रम संचालन, विकास निर्माणका काम संगै सुरु हुने रोजगारीको अवसर र उद्यमीहरुलाई व्यवसाय गर्न सहज हुने नीति लागु गर्न नेतृत्व गर्नेछौं।

  • राष्ट्रियतालाई बलियो बनाउन देशभक्तिको भाव विकास गर्न विभिन्न कार्यक्रम लागु गर्नेछौं। तर, हामी खोक्रो राष्ट्रवाद र अरुलाई गाली गर्ने राष्ट्रवादको पक्षमा छैनौं। हामी प्रत्येक नागरिकलाई बलियो र आत्मसम्मानित बनाएर देशलाई बलियो बनाउन चाहन्छौँ।

  • महिला हिंसा विरुद्ध कडा कानुन बनाउने र त्यसलाई लागु गराउन नेतृत्व गर्नेछौं।

  • कृषिलाई आधुनिकीकरण गर्ने र कृषकलाई उसको मेहनत अनुरुपको बाजारका निम्ति राज्यले जिम्मा लिने नीति लागु गर्नेछौं।

  • नेपाल भूकम्प, बाढी पहिरो र अन्य प्राकृतिक प्रकोपको जोखिममा पर्ने देश हो। त्यसैले, हाम्रो अनुभव र विज्ञतालाई प्रयोग गर्दै विपद व्यावास्थापानको स्पष्ट नीति बनाउन लविंग गर्नेछौं।

  • नेपाल संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको देश हो। आज हिउहरु पग्लिदै छन्। जलबायु परिवर्तन हुँदै छ। त्यसमा निम्ति सगरमाथाको देशले अब नेतृत्व गर्नुपर्छ र संसारलाई भन्नुपर्छ- ‘तिमीहरु जलबायु परिवर्तनमा गम्भीर बन’ हामी संसदमा यो मुद्दा जोडदार तरिकाले उठाउने छौं। 

  • हामी नेताले चुनाव जित्न छुट्याएको सांसद विकास कोष खारेज गर्न नेतृत्व गर्नेछौं। हामी उक्त रकमलाई शिक्षा र रोजगारी सृजनालाई लगाउन आवाज उठाउने छौं।

  • हामी खुल्ला अर्थतन्त्रको पक्षमा छौँ। तर शिक्षा, स्वास्थ्य, यातायात जस्ता केहि नागरिकको जीवनसँग प्रत्येक्ष जोडिएका विषयहरुमा राज्यले जिम्मेवारी लिनुपर्छ, नियमन गर्नुपर्छ र संयोन्वय गर्नुपर्छ भनेर संसदबाट आवाज उठाउने छौं। हाम्रो अर्थतन्त्र आत्मनिभर हुन जरुरी छ।

  • हामी ३ दिन भित्र कम्पनी खोल्न सकिने र एकैदिनमा कम्पनी बन्द गर्न सकिने नीतिको लागी नेतृत्व गर्नेछौं। नयाँ उद्यमीलाई कर छुट, युवा उद्यमीलाई लगानी, व्यवसायीलाई प्रोत्साहन गर्ने नीतिको नेतृत्व गर्नेछौं।

  • संसदको नीतिहरुलाई चोक चोकमा ल्याएर छलफल चलाउछौँ। नागरिकको सहभागिता सुनिस्चित गर्छौं।

  • हामी क्रिप्टोकरेन्सीलाई सम्बोधन गर्ने नीति बनाउने छौं। 

  • हामी वृद्धभत्तालाई निरन्तरता दिनेछौं। साथै, हामी आमा-बुवा र छोराछोरीसंगै बस्ने संस्कारलाई थप मझाबुत बनाउन कार्यक्रम र सचेतना कार्यक्रम ल्याउने छौं। हामी हाम्रा अग्रजका निम्ति फाइभ स्टार सरहको ‘अनुभव घर’ निर्माण गर्न नेतृत्व गर्नेछौं।

  • उपभोक्ताको हक अधिकारको मुद्दा हाम्रो प्राथमिकतामा पर्ने छौँ। नागरिकले उपयोग गर्ने बस्तु, खाद्य पदार्थहरुमा कुनै कम्पनी, होटेलले लापरवाही गरेमा उनीहरुलाई कानुनको दायरामा ल्याउन नीति बनाउनेछौं।

  • हामी ‘पेपरलेस ब्युरोक्रेसी’ को पक्षमा छौं। अब सरकार ‘डिजिटल’ हुनुपर्छ। अब सरकार ‘सेवक’ हुनुपर्छ। 

  • हामी राष्ट्रलाई प्रतिनिधित्व गर्ने खेलाडीलाई जीवन खेलेर र राष्ट्रलाई प्रतिनिधित्व गरेर बिताउन सक्ने अवस्था निर्माणका निम्ति लविंग गर्नेछौं।

  • अब संसार ‘ज्ञानमा आधारित अर्थतन्त्र’ मा चाल्नेछौं। तसर्थ, बिज्ञान, प्रबिधि, आविस्कार र अनुसन्धानमा राज्यले लगानी गर्ने र यस्ता कुराहरुलाई प्रोत्साहन गर्ने हाम्रो नीति रहनेछ।

  • असंलग्न परराष्ट्र निति, नर्थ-साउथ डक्ट्रिन, गुरु राष्ट्रको अवधारणालाई हाम्रो परराष्ट्र नितिको मुल आधारस्तम्भ मानेर अघि बढ्नेछौं । 

  • सम्पूर्ण संवैधानिक निकाय तथा राज्य संयन्त्रका नियुक्तिहरुमा राजनीतिक दलसँग आवद्धता भएका व्यक्तिहरुको नियुक्ति बन्द गरेर योग्य व्यक्तिहरुको सूचिबाट सक्षम व्यक्तिलाई ल्याउने नीतिको वकालत गर्नेछौं।

सम्पर्क: ९८४१८००११३

थप जानकारी: www.milanpandey.com

मिलन पाण्डेको भिजन पढ्नको लागी स्क्यान गर्नुहोस्:

अब अघि बढौँ
परिवर्तनको ‘पाइला’ चालौँ


PDF फरम्याट मा डाउनलोड गर्नुहोस्