इन्जिनियर, लेखक, विवेकशील अभियन्ता स्पस्ट नीति र भिजन सहितको नेता!

नमस्कार, म मिलन पाण्डे। म सिभिल इन्जिनियर हुँ। म ३३ वर्षको भएँ। मेरो जन्म, शिक्षा-दीक्षा, घर सबै यही क्षेत्रमा पर्छ। म २०७४ सालमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार थिएँ। राजनैतिक पृष्ठभूमिको बारेमा भन्नुपर्दा, म २०७० सालमा विवेकशील नेपालीको संस्थापक सदस्यको रूपमा वैकल्पिक राजनीतिमा प्रवेश गरेको थिएँ। उज्वल थापापछि दोस्रो अध्यक्षका रूपमा ०७६ सालमा विवेकशील नेपालीको अध्यक्ष पदमा निर्वाचित भएको थिएँ। त्यसपछि, २०७७ सालमा विवेकशील साझा पार्टीको संयोजक भएँ।

हालसम्मको राजनैतिक/सामाजिक योगदान मैले विवेकशील अभियान मार्फत नै गरेँ। नेपाल खुल्ला छ, संविधान कहिले ? डाक्टर गोविन्द केसीको स्वास्थ्य क्षेत्र सुधार अभियान, न्यायपालिका सुधार अभियान, #EnoughIsEnough अभियान, युवालाई राजनीतिमा आकर्षण जगाउने अभियान लगायत करिब दुई दर्जन अभियानमा विगत १० वर्षदेखि सक्रिय नेतृत्व गर्दै र सहभागिता जनाउँदै आइरहेको छु।

नेपालको सार्वजनिक शिक्षा सुधारमा मेरो विशेष रुचि छ । मैले विभिन्न संस्थामा करिब १० वर्ष पढाएको छु। मैले काठमाडौँको प्रतिष्ठित कलेजको शैक्षिक निर्देशक भएर समेत अनुभव प्राप्त गरेको छु। साथै, विभिन्न जिल्लाहरूमा गएर शिक्षक र विद्यार्थीहरूसँग तालिम र अन्तरक्रिया गरेको छु। 

प्रत्येक नेपालीलाई धनी र आत्म सम्मानित बनाउने अभियानमा निरन्तर छु।